४ महीनामा ७ अर्बको विद्युत् भारत निर्यात, थप २०० मेगावाट बेच्न प्रस्ताव | आर्थिक अभियान
ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ महीनामा ७ अर्बको विद्युत् भारत निर्यात, थप २०० मेगावाट बेच्न प्रस्ताव

२०७९ असोज, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो चार महीनामा ७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् भारतीय बजारमा निर्यात गरेको छ । चालू आर्थिक वर्षको दोस्रो महीनामा मात्र २ अर्ब  ४२ करोड रुपैयाँको निर्यात भएको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको प्राधिकरणले बताएको छ । वर्षायामको विद्युत् गत १९ जेठ (२०२२, २ जुन ) बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धा मार्फत विक्री शुरु भएको थियो ।

सुरुमा दुई ओटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी  दैनिक रुपमा आइएक्समा विक्री गरिएको थियो । त्यसपछि २७ जेठ (१० जुन २०२२) बाट दैनिक रुपमा ६ ओटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा विक्री हुँदै आएको छ ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत्  भारतीय बजारमा विक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैया (भारु) मा हुने भएकोले चार महीनाको अवधिमा विद्युत् विक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत् विक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ ।

हरेक महीना विद्युत् निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु) नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘चालू आवमा विद्युत निर्यातबाट करीब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ, मंसिरको पहिलो हप्तासम्म निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात शुरु हुन्छ’, उनले भने ।

अब चाडबाड पनि शुरु हुन लागेकोले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम भए पनि उत्पादन भने पूर्ण क्षमतामा हुने हुँदा करीब २०० मेगावाट थप विद्युत् निर्यातको सहमतिका लागि प्रस्ताव पठाएको उनले बताए ।

आईएक्समा २४ घण्टालाई १५/ १५ मिनेटको ९६ ओटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट  ९ रुपैयाँ ८० पैसा रहेको छ । चार महीनाको औसत दर प्रतियुनिट ९ रुपैयाँ  २३ पैसा छ ।

थप २०० मेगावाट निर्यात प्रस्ताव

विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १०० दशमलव ९ मेगावाट विद्युत्  आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धा मार्फत विक्री गर्ने प्रस्ताव गरेको छ ।

प्राधिकरणले केही दिनअघि चार ओटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट विक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो ।

यसअघि प्राधिकरणले चार ओटा जलविद्युत् आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत् निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । थप चार ओटा जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ ओटा जलविद्युत् आयोजनाबाट उत्पादित २१२ दशमलव ७ मेगावाट विद्युत् निर्यातका लागि प्रस्ताव पेश गरेको हो ।

निजी क्षेत्रले निर्माण गरेका २९ दशमलव शून्य ४ मेगावाटको लिखु खोला ए, २५ मेगावाटको काबेली बी- १, २२ मेगावाटको माईखोला, १४ दशमलव ९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युतगृहबाट उत्पादित १०० दशमलव ९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ ।

यसअघि ४२ मेगावाटको मिस्त्री खोला, २४ दशमलव २ मेगावाटको लिखु खोला ‘ए’, २३ दशमलव ५ मेगावाटको सोलूखोला, २२ दशमलव १ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११ दशमलव ८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)